हेटौंडा, २१ भदौं/बागमती प्रदेशेको राजधानी हेटौंडामा प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा आधुनिक तरकारी बजार निर्माण हुने भएको छ ।

करिब ४१ करोड रुपैयाँ खर्चिएर तरकारी बजार निर्माण गर्न बागमती प्रदेशको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको छ ।

हेटौंडा–११ थानाभ¥याङमा दुई बिगाहा क्षेत्रफलमा प्रादेशिक तरकारी तथा फलफूल थोक बजारको लागि प्रदेशले ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत लगानी गर्नेछ । तरकारी बजारको डीपीआर एक वर्षअघि नै तयार भइसकेको छ ।

तत्कालै प्रारम्भिक वातावरणीय परीक्षण (आईई) गरी प्रदेशको कृषि विकास निर्देशनालयले अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्ने तयारी भएको छ । तरकारी बजारभित्र ४० वटा थोक बिक्री केन्द्र निर्माण हुनेछन् भने ३० वटा खुद्रा बिक्री केन्द्र रहनेछन् ।

आफ्नो उत्पादन आफैंले खुद्रा बिक्री गर्न चाहने किसानको लागि छुट्टै ब्लक स्थापना गरिनेछ । उक्त ब्लकमा किसान आफैंले निर्धारित मूल्यअनुसार तरकारी तथा फलफूलको खुद्रा बिक्री गर्न सक्नेछन् ।

तरकारी बजारभित्र कोल्ड स्टोर, क्यान्टिन, एटिएम सुविधा, व्यवस्थित पार्किङको सुविधा, जेनेरेटर सब स्टेशन, आधुनिक अग्नि नियन्त्रण यन्त्र, व्यवस्थित तौल पुल, शौचालयलगायतका सुविधा हुनेछन् ।

व्यवस्थित तरकारी बजारमा दैनिक करिब ९ हजार मेट्रिकटन तरकारी तथा फलफूल खरिद बिक्री गर्न सकिने अनुमान डीपीआरमा गरिएको छ । संघीय सरकारले उक्त तरकारी बजारको दुई वर्ष अघि नै डीपीआर तयार गरेपनि प्रदेश र स्थानीय तहलाई लगानी गर्न योजना हस्तान्तरण गरेसँगै पुनः डीपीआर गरिएको हो ।

संघीय सरकारले तयार गरेको डीपीआरअनुसार करिब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । उक्त डीपीआरअनुसार लगानी गर्न नसकिने भन्दै प्रदेश सरकारले लागत मूल्य घटाउने गरी पुनः डीपीआर गरेको हो । पुनः डीपीआर गर्दा प्रशासनिक भवन, थोक तथा खुद्रा बिक्री कक्ष, एटीएम ब्लकलगायतमा लगात कट्टा गरी करिब ७० करोडबाट करिब ४१ करोडमा झारिएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तरकारी बजार स्थापनाले प्रदेशको अर्थतन्त्रमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरे । कृषि उत्पादनमा विचौलियाको अन्त्य गर्दै किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सुलभ मूल्यमा तरकारी तथा फलफूल प्राप्त गर्ने अवसर आधुनिक तरकारी बजार स्थापनापछि प्राप्त हुने उनको दावी छ ।

वहुवर्षीय ठेक्का लगाई बजार निर्माणको काम सुरु गर्न प्रदेश र हेटौंडा उपमहानगरपालिकाले चालु आवमा एक÷एक करोड रुपैयाँ विनियोजन गरेका छन् ।

देशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीका अनुसार प्रदेशको कृषि क्षेत्रको ठूला तीन आयोजनामध्ये आधुनिक तरकारी बजार स्थापना पनि एक हो ।

तरकारी बजार स्थापनापछि सयौं जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउने उनले बताए । प्रदेशले कृषि क्षेत्रकोे विकासको लागि ठूलो लगानीमा चितवनमा दुग्ध प्रशोधन प्लान्ट र मकवानपुरमा कृषि औजार कारखानासमेत स्थापनाको तयारी गरेको छ । -साभार: कारोबार दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here