हेटौंडा, ७ भदौ/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कोरोना परीक्षणको दायरा बढाउन प्रदेश सरकारसंग माग गर्नुभएको छ ।

संचारकर्मीहरूसंग आइतबार कुरा गर्दै नेता बानियाँले प्रदेशमा कोरोना परीक्षणको दर कम रहेको भन्दै यहि ढंगको परीक्षणले कोरोना संक्रमण रोक्न नसकिने बताउनुभयो । नेता बानियाँले प्रदेशभरका पिसिआर प्रयोगशालाको स्तरोन्नति एवं नयाँ मेसिन खरिद गरि अहिलेको परीक्षणको दरलाई बढाउनु जरूरी रहेको बताउनुभयो ।

पहिलो प्राथमिकता जनताको जीवन भएकाले ‘कोरोना कोष’ र बिकास बजेटलाई परिचालन गरि प्रयोगशालाको सुधार र आवश्यकताको आधारमा नयाँ मेसिन खरिद गर्न प्रदेश सरकारको बानियाँले ध्यानाकर्षण गराउनुभएको छ । यसका लागि करारमार्फत जनशक्ति व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

नेपाली कांग्रेसले प्रदेशको कोरोना कोषमा समेत यसअघि रकम जम्मा गरेको स्मरण गराउँदै बानियाँले सरकारले मेसिन खरिदका लागि सहयोगको आह्वान गरे प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेस सबैखाले सहयोगका लागि तयार रहेको बताउनुभयो ।

उहाँले लकडाउन र निषेधाज्ञा समस्याको समाधान नभई जोखिम न्युनिकरणका उपाय मात्रै भएको बताउँदै यसले सामाजिक र आर्थिकरूपमा दिर्घकालिन असर पार्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

सरकार निषेधाज्ञालाई मात्रै निरन्तरता दिनेतर्फ भन्दा निश्चित स्वास्थ्य मापदण्ड पूरा गरि उद्योग, कलकारखाना, व्यवसाय, कृषि कार्य जस्ता क्षेत्र सुचारू गर्नेतर्फ पनि सहजिकरणका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । जसले देशको आर्थिक, सामाजिक क्षेत्र चलायमान भइ अर्थतन्त्र ढल्नबाट जोगिने उनको भनाइ छ ।

अत्यावश्यक कामका लागि अर्को जिल्ला जानुपर्ने सर्वसाधारण र कामका लागि जानुपर्ने कामदार तथा श्रमिकले निषेधाज्ञाका कारण समस्या भोगिरहेको भन्दै कोरोनाको पिसिआर परीक्षणको रिपोर्टका आधारमा सहज आवतजावतको व्यवस्था सरकारले गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले प्रदेशभरका क्वारेन्टाइन र आइसोलेसनको अवस्था सन्तोषजनक नभएको भन्दै यसको यथाशिघ्र सुधार गर्नुपर्ने बताउँदै जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई सचेत गराउनुभयो । व्यवस्थित ढंगले कोरोना परीक्षणको दायरा बढाउने, संक्रमितलाई उपयुक्त वातावरणमा आइसोलेसनमा राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै जनजीवनलाई सामान्यिकरण गर्नेतर्फ अघि बढ्न सरकारलाई उहाँको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here