हेटौंडा, १ चैत/वरिष्ठ फोक्सो रोग विशेषज्ञ डाक्टर अर्जुनबहादुर कार्कीले नेपालमा कोरोना भाइरसको संक्रमण भएको तर नदेखिएको हुन सक्ने अनुमान गरेका छन्। उनले यसका पछाडि केही कारण देखेका छन्।

पहिलो-एक सय जनामा कोरोना भाइरसको संक्रमण देखियो भने ८० जनालाई यतिकै ठीक हुन्छ। उनीहरूलाई सामान्य रूघाखोकी लागेको हुन्छ। घरमै नुनपानी, बेसार खाएरै निको हुन्छ। उनीहरूलाई केही खाएरभन्दा पनि आफैं ठीक भएको हो।

दोस्रो- १५ जना अलिअलि बिरामी हुन्छन्। तर सामान्य उपचारपछि उनीहरूलाई ठीक हुन्छ।

तेस्रो- सय जनामध्ये ५ जनालाई मात्रै आइसियुमा राख्नुपर्ने हुन्छ र त्यसमा भने २ जनाको मृत्यु हुन्छ। यही कारणले पनि कोरोना भाइरसको संक्रमण थाहा नभएको उनले बताए। नेपालमा अहिले पनि कोरोना भाइरसको परीक्षण गराउन सहज नभएको कार्कीले बताए।

चीनमा महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नेपाल जोगिएको छ भन्ने आधार त छैन तर यसको संक्रमण पनि देखिएको भने छैन।

वरिष्ठ चिकित्सक कार्कीका नजरमा यसका पनि केही कारण छन्। कोरोना भाइरस चीनबाट फैलिएको हो। चीनमा यसको संक्रमण देखिएको केही समयमै हुवेई प्रान्तलाई नै दायाँबायाँ गर्न नदिई स्वाटसुट बन्द गरिदिए।

चीनले यसरी बन्द गरेकै कारण जो-जो मान्छेहरू संक्रमित भएका थिए त्यहीमात्रै फैलियो। नेपालमा वुहानबाट आउने मान्छेहरू नभएकाले त्यो फैलिन पाएन। जस्तो, वुहानबाटै आएका हाम्रा नेपालीहरुलाई पनि त्यो लागेन। दुई महिनासम्म अन्ततिर फैलिएको थिएन। विगत २-३ सातादेखि युरोप, इरान, जापान कोरिया, अमेरिकालगायत देशमा फैलिएको हो।

दोस्रो, वुहानमा अहिले पनि जाडो छ। हुन त हामीकहाँ पनि त्यति गर्मी भइसकेको छैन। तर यसमा वातवरणीय कारणले पनि केही प्रभाव पारेको हुनसक्छ। यद्यपी अहिलेसम्म यसको वैज्ञानिक कारण देखिएको छैन। खास गरेर सतहमा त्यो भाइरस छ भने जाडो ठाउँमा जति बच्न सक्छ घाम लाग्ने ठाउँमा बच्न अलि गाह्रो पर्छ। त्यसले गर्दा संक्रमण फैलाउन नदिन केही प्रभाव पारेको छ कि भन्ने शंका छ।

तेस्रो, यो भाइरस प्रत्यक्ष कसरी फैलिन्छ भनेर अहिलेसम्म टुंगो लागिसकेको छैन। टुंगो नलागे पनि हाछ्युँ र खोकीबाटै सर्छ भन्ने छ। त्यो हुनका लागि संक्रमित मान्छेको सम्पर्कमा हामी आउनु पर्छ। संक्रमित मान्छेको सम्पर्कमा हामी आएका छैनौं भने सर्ने भन्ने भएन।

तर यसको अर्थ हामीकहाँ आउँदैन टर्‍यो भन्ने होइन। कुनै पनि बेला डढेलो लाग्न ठिक्क परेको अवस्था हो,अहिले।

नेपालबाटै अष्ट्रेलिया र अरबतिर गएकाहरूमा कोरोना भाइरसको संक्रमण भेटिएको भन्ने पनि सुन्नमा आएको छ। त्यही भएर हामीमा यो रोगले छुनै नसक्ने प्रतिरोध शक्ति रहेछ कि भनेर सोच्न आवश्यक छैन। एक-दुई वटा भर्ना भएकाहरू शंकास्पदको परिणाम आइसकेको छैन। त्यसैले यो जुनसकै बेलामा ह्वात्तै विष्फोट हुन सक्छ।

रूघाखोकी त संसारका सबैलाई लाग्छ। नेपालीलाई मात्र लाग्ने भन्ने होइन। पश्चिमाहरू धेरै घुम्छन्, त्यसैले उनीहरू संक्रमित मान्छेको सम्पर्कमा जान्छन्। तर धेरै नेपालीको चीन घुम्न जाने हैसियत खासै छैन, त्यही भएर पनि जोगिएको हो कि जस्तो लाग्छ।

तर सवाल किन भएन भन्ने भन्दा पनि कुनै पनि बेला हुनसक्छ भनेर सजग हुनुपर्छ भन्ने हो र त्यसको तयारीसमेत गर्न जरूरी छ। यसका लागि सर्वसाधरणकै तवरबाट पनि केही विषयमा ध्यान दिनु पर्ने डाक्टर कार्कीको सुझाव छ।

सबैभन्दा पहिलो जनचेतना व्यापक बढाउनु पर्छ। दोस्रो, आफूलाई त्यस्तो भयो भने अरूलाई नसरोस् भनेर मास्क प्रयोग गरेर घरमै बस्नुपर्छ। सिकिस्त र अप्ठेरो भयो भने चिकित्सककहाँ गएर परीक्षण गर्नुपर्छ भने कसैलाई त्यस्तो भएमा संक्रमितबाट सर्छ भन्ने भएमा हुलमुलमा जानु हुँदैन र गइहालियो भने मास्कको प्रयोग गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण काम भनेको हात धोइ राख्ने नै हो। कतै छोइयो भने हात साबुनपानीले नधोएर अनुहारमा ल्याउनु हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here