काठमाडौं, ६ पुस/सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार रहेका गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। 

विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई आइतबार घरबाटै नियन्त्रणमा लिएको हो। भेडिहरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

उनका अनुसार अध्यक्ष भेडिहरलाई आइतबारै अदालतमा हाजिरी गराइ अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ।

अदालतबाट सजाय तोकिएर फरार भएकाहरूको सूची केलाउँदा उनी उनको नाम देखेपछि प्रहरीले कार्यान्वयन गरेको हो। २०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको बाइकबाट दुर्घटना भएपछि वृद्धाको मृत्यु भएको थियो।

उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो।

घटना भएको १५ वर्षसम्म उनी देश बाहिर बसेका  थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।  तर प्रहरीले तत्कालीन अवस्थमा उनीमाथि कारबाही गर्न सकेको थिएन। हाल उनको नाम फैसला कार्यान्वयनको सूचीमा देखेपछि प्रहरीले पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here