काठमाडौं, १७ मंसिर/एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । 

उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले भने । 

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अङ्ग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ ।

प्रधानमन्त्री ओलीले सोमबार सो सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत् आफू उठेर बोल्नसक्ने,  साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिएका थिए ।

अमेरिका लैजान छलफल:

अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ । ‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एक पटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीको एक सातामै दुई पटक डायलासिस गरिसकिएको छ ।

नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ समेत रहेकी शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भाञ्जी पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ ।
प्र

धानमन्त्री ओलीको एक महिना अवधिमा सात पटक डायलासिस गरिसकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फस्र्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए । ०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

ओलीले पुनः प्रत्यारोपण अमेरिकामै गर्न चाहेका छन् । ओलीलाई स्वास्थ्य उपचारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण धकेलिएको छ । उनी २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए ।

‘पार्टीभित्र प्रधानमन्त्रीको उपचार विदेश लगेर गरिने गरी आन्तरिक छलफल छ । त्यही कारण अध्यक्ष नेतृत्वको टोलीको चीन भ्रमण धकेलिएको छ,’ दाहालसँगै चीन जाने तयारीमा रहेका नेकपाका एक स्थायी समिति सदस्यले भने ।

प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन् । काठमाडौं बोलाइएपछि उनी तीन दिनअगाडि स्वदेश आएका हुन् । प्रधानमन्त्री ओलीका शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यससम्बन्धी निर्णय गरिने स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here