काठमाडौं, १२ मंसिर/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेपाल कमर्स क्याम्पस इकाईले शान्ति सुरक्षाको माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । 

क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिनालगायत विद्यार्थी नेताहरुलाई सत्तारूढ नेकपाल कम्यनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका नेता–कार्यकर्ताले खुकुरी प्रहार गरेर घाइते बनाएको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरिएको हो ।

विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाएर घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सहयोगको माग गर्दै क्याम्पस प्रमुख जीवनकुमार भट्टराईको कार्यकक्षमा तालबन्दी गरिएको नेविसंघका नेता अनुराग शाहले जानकारी दिए । तालाबन्दीपछि नेविसंघले क्याम्पसको प्रवेशद्वारमा कोणसभा गरेको थियो । 

कोणसभालाई सम्बोधन गर्ने नेविसंघका नेताहरूले घटनामा संलग्न अनेरास्ववियुका नेता–कार्यकर्तालाई तत्काल कारबाही गरेर पीडितलाई न्याय दिन माग गरेका थिए । बुधबार कमर्श क्याम्पस प्रशासनको रोहबरमा भएको छलफलपछि बाहिरिने क्रममा नेविसंघ क्याम्पस इकाई सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीहरुमाथि सांघातिक आक्रमण भएको थियो । 

आक्रमणकारीको खुकुरी प्रहारबाट घाइते भएका सभापति तिमिल्सिना र शाहको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

नेविसंघले अनेरास्ववियुका क्याम्पस कमिटि अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दिपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतको समूहले उक्त आक्रमण गरेको दाबी गर्दै उनीहरुलाई तत्काल पक्राउ गर्न माग गरेको छ । यसअघि कांग्रेसले पनि बिहीबार विज्ञप्तिमार्फत आक्रमणमा संलग्नमाथि कारबाही गर्न माग गरेको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here