हेटौंडा, ३ कार्तिक/सरकारी अस्पताल र हेल्थपोस्टबाट निशुल्का वितरण गरिने औषधि स–शुल्क बेचेको पाइएपछि हेटौंडा वडा नम्बर ५ मा रहेको साहा मेडिकल हलमा शिलबन्दी गरिएको छ ।

जिल्ला प्रशसान कार्यालयका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिकाका नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो ।

मेडिकलले झाडापखा लागेको समयमा प्रयोग गरिने शक्तिजल नामको औषधीमा नेपाल सरकारबाट निशुल्क वितरण गरिने भनि लेखिएकोलाई कालो रंगको मार्करले केरेर प्रतिगोटा १० रुपैयाँका दरले बेचेको पाइएको हो ।

अनुगमनका क्रममा निशुल्क वितरण गरिने अन्य तीन चार प्रकारका औषधिपनि वरामद गरिएको अनुगमन टोलीमा रहेका पत्रकार देवराज पन्तले जानकारी दिए ।

यस्तै मेडिकलले अनुमति विना विरामीलाई भर्ना गरेर उपचार गरेको पाइएको छ । औषधी मात्र बेच्ने गरि अनुमति लिइएको मेडिकलले अनुमति विना क्लिनिकसमेत संचालन गर्दै आएको पाइएको हो । अनुगमन टोली पुग्दा झण्डै आधा दर्जन विरामीलाई भर्ना गरेर उपचार गरिरहेको पाइएको थियो ।

उक्त मेडिकलमा नेपाल सरकारले निशुल्क वितरणका लागि पठाइएको डाइजिन, आइड्रपलगायतका केही औषधिहरु बेचिरहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here