सिन्धुपाल्चोक, २४ असोज/सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको हो ।
डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ । सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष जीवन कुमार थापा मगरले बताए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको र मृतकहरुको सनाखत हुनसकेको छैन ।