नेत्र आचार्य

बुद्धप्रेमी पाहुना:
फ्रान्सबाट बुद्ध जयन्ती मनाउन लुम्बिनी आइपुगेका बुद्धप्रेमी मायादेवी मन्दिरको दर्शन गर्न व्यग्र थिए। अघिल्लो साँझ लुम्बिनी पुग्‍नासाथ होटलमा सुटकेस राखेर प्रवेशद्वार पाँच नम्बर गेटमा गएका उनीहरूलाई पुलिसले रोक्यो।

धुलो उडेको बाटोमा आधा घन्टा कुरेपछि थाहा भयो प्रधानमन्‍त्रीको सवारी हुँदै रहेछ। हजारौं किमी टाढाबाट बुद्धको जन्मथलो हेर्न आएका पाहुनालाई मन्दिर परिसरमा पस्‍न‍े नपाई होटल फर्कनुपर्दा कति नरमाइलो अनुभूति भयो होला, सहजै अन्दाज गर्न सकिन्छ।

साँझ अबेरसम्म हामीले नजिकैको गुम्बामा बसेर अनुभूति आदानप्रदान गर्‍यौं। तर, सोह्र जनामध्ये कसैले पनि बुद्धभूमि दर्शन गर्न नपाएको गुनासो गरेनन् । फ्रान्सेली बुद्धप्रेमीलाई सायद थाहा थियो जसले सिकायत मनमा खेलाएर बस्छ, उसले उन्‍नत र उच्च विचारलाई मनमा स्थान दिन सक्दैन। हीरा उसले गुमाउँछ नै जसले पत्थरका टुक्रा खेलाएर समय नष्ट गर्छ।

श्री रविशंकर आफ्ना प्रवचनमा एउटा कन्नड कहावत भनिरहन्छन् – मारधौड पापा आडधौड बलियाबिति अर्थात् कसैले पाप गर्छ भने त्यो पाप कहाँ जान्छ ? जसले त्यो पापकर्म बारम्बार अरुलाई सुनाइरहन्छ या निन्दा गरिरहन्छ, उसैको मुखमा जान्छ । बुद्धले सिकाएको ध्यानले हामीलाई दिने सबैभन्दा ठूलो शिक्षा नै यही हो – हामी आफ्नो चित्त शुद्धि गरौं, सबैको कल्याणका लागि श्रेष्ठ कर्म गरौं, अरुले के गरेको छ, के गर्नुपथ्र्यो, त्यसको चियोचर्चो गरेर समय नष्ट नगरौं।

यति सिक्नसके हामीमा अपार ऊर्जा सञ्चय हुन्छ। यो त्यही ऊर्जा हो, त्यो अनमोल सामल जुन हामीलाई हरदम शान्त र आनन्दित रहनका लागि चाहिन्छ । यो आलेखमा ध्यानले कसरी साधकलाई सकारात्मक चिन्तनमा केन्द्रित हुन मद्दत गर्छ, कसरी साधकलाई रुपान्तरण हुन मद्दत गर्छ भन्‍ने चर्चा गरिनेछ । बुद्ध भन्नुहुन्छ– ध्यानको उद्देश्य शान्त या मस्त हुनु मात्र होइन, यसको अभ्यास गर्दै हामीले जीवनका जटिलता कुशलतासाथ सुल्झाउने क्षमता विकसित गर्नुपर्छ। हामी जे काम गर्छौं, त्यसमा उत्कृष्टता आउनुपर्छ र, हाम्रो हृदय समस्त प्राणीप्रति करुणान्वित हुनुपर्छ।

अरुको आलोचना नगर्नु जाती हो तर आफूले गर्ने कर्म आलोच्य नहोस् भनेर झनै सचेत हुनुपर्छ। अन्जानमा पाप कर्म गर्नु क्षम्य हुन सक्ला तर जानीजानी गरेको पापकर्मको संस्कारले दीर्घकालसम्म असर गर्छ । पाप कर्म गर्ने बखत व्यक्तिलाई एक प्रकारको सुख हुन्छ, त्यसले दुगुना, चौगुना दुःख निम्त्याउँछ । बुद्धले अकुशल कर्म के हुन्, कुशल कर्म के हुन्, कसरी मानिस अकुशल कर्म त्यागेर कुशल कर्म गर्न उत्प्रेरित हुन सक्छ, कसरी मानिसमा शान्ति, सुख र समताभाव पैदा हुन्छ भन्ने चर्चा गर्नुभएको छ।

अकुशल कर्म:
बुद्धका शिक्षा त्रिपिटकका चौरासी हजार सूत्रमा समेटिएका छन् तर, ती सबै शिक्षाको सार धम्मपदको यो पद्यमा समेटिन्छ –
सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा ।
सचित्तं परियोदपनं एतं बुद्धानं सत्सनः ।।

पाप के हो र पुण्य के हो सहज बुद्धि हुने सबैले बुझेका हुन्छन्। तर, मानिसले अक्सर जानीजानी पापकर्म गरिरहन्छ किनभने पाप कर्म गर्दासम्म उसलाई त्यसमा बडा स्वाद आइरहेको हुन्छ। पापको फल प्राप्त हुन थालेपछि मात्र पापी सन्तप्त हुन थाल्छ ।

बुद्ध भन्नुहुन्छ– :मधु वा मञ्ञति बालो याव पापं न पच्चति । यदा च पचति पापं अथ बालो दुक्खं निगच्छति ।” अर्थात्, मूर्खले पापकर्म गर्दा महजस्तै गुलियो ठानिरहेको हुन्छ । पाप कर्मको परिणाम आउन थालेपछि ऊ दुःखले ग्रस्त हुन्छ ।

पापमा रत हुन या अभ्यस्त हुन थालेपछि मानिसले हद, सीमा सबै कुरा बिर्सन्छ। रक्स्याहा व्यक्तिले मलाई चाहिने रक्सी कति हो भन्ने बिर्सन्छ। हिजो, अस्तिको मात्राले उसलाई पुग्दैन, निरन्तर बढाउँदै लग्‍नुपर्छ । यौन सुखमा ‘एडिक्ट’ हुनेले एकपछि अर्को यौनसाथी फेरिरहन्छन् । भ्रष्ट व्यक्तिले उसलाई चाहिने धनदौलत कति हो भन्ने बिर्सन्छ । अकूत सम्पत्ति जोड्न थाल्छ जुन पुस्ता पुस्ताले उपभोग गरेर नसकियोस् । तर, जुन दिन पाप धुरीबाट कराउँछ त्यस दिन पापी व्यक्ति दुःखले सन्तप्त हुन्छ ।

कुनै पनि पाप कर्ममा ‘एडिक्ट’ हुन थालेपछि व्यक्तिले के बिर्सन्छ भने जीवनका अरु पनि आयाम छन्, जीवनका अरु पनि रंग छन्, जीवनमा अरु पनि संगीत छन् । उसले सधैं एउटै राग गाइरहन्छ, किनभने ऊ त्यसैमा रत हुन्छ र, त्यसै कारणले ऊ अन्धो हुन्छ, जीवनको बृहत्तर सौन्दर्य देख्न सक्दैन । केवल एउटै राग सधैंभरि अलापेर न व्यक्ति सुखी हुन सक्छ न उसले अरु कसैलाई सुख दिन सक्छ ।

उपनिषद्का ऋषिले हजारौं वर्षपूर्व नै भनेका थिए–”यो वै भूमा तत् सुखम् नाल्पे सुखमस्ति” अर्थात् जुन कुराको महत्ता बृहत्तर छ, त्यसैमा सुख छ, जुन कुरा क्षणभरमै सकिन्छ त्यसमा सुख छैन ।

कुशल कर्म:
बुद्धले अक्सर कुशल कर्म के हुन्, ती कसरी अभ्यास गर्ने भन्ने बताउनुभएको छ । पञ्चशील पालना गर्नु, चार आर्य सत्य जान्‍नु, आर्य अष्टांगिक मार्ग अनुसरण गर्नु, दस पारमिताको अभ्यास गर्नु, प्रतीत्यसमुत्पाद अर्थात् जीवन र जगत् कुन नियमले चलिरहेको छ जान्नु र, ध्यानको निरन्तर अभ्यासद्वारा जानेको सत्यलाई अनुभूतिको स्तरमा बुझ्नु ।

मनमा राग किन आउँछ, द्वेष किन आउँछ, अज्ञानले कसरी बुद्धि छोपिदिन्छ भन्ने बुझेपछि मानिस हरदम सजग, सचेत र सचेष्ट रहन थाल्छ । जीवन न त विगतका यादमा छ न भविष्यका कल्पनामा । जीवन अहिले यही क्षण उपलब्ध छ । वर्तमानमा होसपूर्ण रहनुमा अपार आनन्द छ । होशपूर्ण र शान्त रहँदा हरपल ज्ञानोदय भइरहन्छ, हरपल अन्तर्दृष्टि प्राप्त हुन्छ । वर्तमान क्षणमा कुनै बाह्य वस्तु या व्यक्तिको सहारा नलिई शान्त र आनन्दित रहने कला सिकेको व्यक्तिले हरेक काममा उत्कृष्टता हासिल गर्दै जान्छ ।

वर्तमानमा होसपूर्ण रहेर कुशल कर्म गर्दै त्यसमा उत्कृष्टता हासिल गर्न सचेष्ट रहनुमा जति आनन्द छ, त्यति अर्थोक केहीमा फेला पर्दैन। यो आनन्द उपल्लो कोटीको आनन्द हो जुन क्षणभरमा समाप्त हुँदैन, जुन हर्दम बढोत्तरी भइरहन्छ । गायक, कलाकार, सर्जक, लेखकले कसरी आफ्नो सिर्जनामा जीवन्तता भर्छन्, कसरी त्यसमा कलात्मकता, सौन्दर्य सजाउँछन्, त्यसको रहस्य पनि यही होस् वर्तमान क्षणमा होसपूर्ण रहनु ।

सिर्जनाको क्रममा एउटा विन्दु आउँछ जब उनीहरूको चित्त पूर्णतः शान्त भइदिन्छ। आफूभित्रै प्रकाशको ज्योति देखिन थाल्छ, आफूभित्रै आनन्दको स्रोत फेला पर्न थाल्छ, आफूभित्रै ज्ञानोदय हुन थाल्छ, जीवनजगतका रहस्य खुल्न थाल्छन्। त्यो अपूर्व क्षणमा गरिएको सिर्जनामा अस्तित्वले कलात्मकता भर्छ, त्यसबखत लेखिएको रचनामा अस्तित्वले सिर्जनात्मकता थप्छ ।

कलाकृति काजलयी हुन पुग्छ। एउटा नर्तक या नृत्यांगना नाच्दानाच्दै यस्तो क्षण आउँछ उसका हातपाउ स्वतः गतिमान हुन्छन्, नृत्यांगना र नृत्य एकाकार हुन्छन्। तब वास्तविक नृत्य प्रकट हुन्छ । जीवनमा केही सौन्दर्य भर्नु अस्तित्वप्रतिको जिम्मेवारी निभाउनु हो। यो उदात्त कर्ममा पाइने सुख, शान्ति र सन्तोषको गरिमा उपल्लो कोटीको हुन्छ । यो गरिमा त्यसैले बुझ्न सक्छ जसले आफ्नो जीवन र अरुको जीवनमा पनि केही सौन्दर्य भरेको छ ।

कसैका निम्ति आशा, उत्साह र प्रेरणाको स्रोत बन्नुको महत्ता अप्रतीम हुन्छ । यस कुराको अनुभूति मात्रले मानिसको मनमा हरक्षण, हरपल खुशीका लहर दौडन्छन्, खुसीको अतिरेकले मन गद्गद् भइरहेको हुन्छ । यसरी मानिसलाई उसको सौन्दर्यका सम्पूर्ण आयाम उघार्न सघाउने विधा ध्यान हो । बुद्ध भन्नुहुन्छ, ‘ज्ञान र ध्यान साथसाथै अभ्यास गर्दै निर्वाणसम्म पुग्न सकिन्छ ।’

ध्यानको प्रयोग:
व्यासले पतञ्जलिको योगसूत्रमा भाष्य लेख्दा भनेका छन्– “चित्त नदी नाम उभयतो वाहिनी, पुण्याय च वहति पापाय च” अर्थात् मानिसको मन हरदम गतिशील हुन्छ, यो दुवैतिर प्रवाहमान हुन्छ, पुण्यतिर पनि बग्छ, पापतिर पनि बग्छ । मनलाई हरपल वशमा राखिरहन र कुशल कर्ममा लगाइरहन आवश्यक हुन्छ । यसो गर्न वर्तमान क्षणमा होशपूर्ण रहने अभ्यास चाहिन्छ । क्षणिक सुखको त्याग असीमित सुख देखेपछि मात्र सम्भव हुन्छ ।

साइकल छाड्न मोटरसाइकल पाएको हुनुपर्छ । जसले मोटरसाइकल पाएको छैन उसले साइकलै चलाएर गुजारा गरिरहेको हुन्छ । किनभने मानिसलाई आनन्द चाहिरहन्छ। ठूलो आनन्द नपाउँदासम्म क्षणिक सुखले नै काम चलाइरहनु स्वाभाविक हो । ठूलो आनन्दका लागि वर्तमान क्षणमा होसमा रहने अभ्यास अत्यावश्यक हुन्छ ।

वर्तमान समयमा होसमा रहनु सुन्दा सहज लागे पनि यो अभ्यासमा अभ्यस्त हुन त्यति सजिलो छैन । बर्माबाट विपश्यना ध्यानलाई विश्वभर विस्तार गर्नुभएका सत्यनारायण गोयन्काका अनुसार कम्तीमा दस दिनको अनवरत ध्यानको अभ्यासले मनलाई स्थिर गर्न र होसमा रहन सघाउँछ । त्योभन्दा कम अभ्यासले सम्भव नदेखेर विपश्यना शिविरमा नवप्रवेशीलाई दस दिनभन्दा कम अवधिको ध्यान सिक्ने व्यवस्था नै राखिएन ।

दस दिनको अनवरत अभ्यासका क्रममा मानिसको मन केही स्थिर हुन थाल्छ र, उसले आफ्नै मनका गतिविधि नियाल्नसक्ने हुन्छ। अन्यथा, मानिस मनसँगै दौडिरहेको हुन्छ, मनलाई नै आफू ठानिरहेको हुन्छ । आफ्नै मनलाई केही दूरीबाट नियाल्ने कला सिक्नु भनेको मनको साक्षी हुनु हो ।

शमथ ध्यानले आफ्नै मन कहाँ, कता र कसरी दौडिरहेको छ देख्न सक्ने र मनलाई पक्रन सक्ने क्षमता दिन्छ। विपश्यना ध्यानले मनलाई सही ठाउँमा ठेगान लगाउने उपाय सुझाउँछ । ध्यानको अभ्यास गर्दा सही उद्देश्यले गरिएको हुनुपर्छ, मनमा सही चेष्टा हुनुपर्छ। अन्यथा ध्यानले मानिसलाई कहीँ पुर्‍याउँदैन । धारिलो हतियारले कसैको रक्षा गर्न पनि सकिन्छ तर त्यही हतियारले कसैको हत्या पनि हुनसक्छ।

बौद्ध ध्यान पद्धति व्यवस्थित र संगतिपूर्ण छ। यो ध्यान आँखा चिम्लेर एकाध घन्टा शान्त बस्दैमा पूरा हुँदैन। ध्यानका चरणहरु हुन्छन् र हरेक चरणमा सजगता हुनुपर्छ। देखेका, सुनेका र कल्पना गरेका सबै वस्तु शून्य हुन् भनी थाहा पाउन पञ्चस्कन्धको शून्यता बुझ्नुपर्छ । कसरी दृश्यमान वस्तु र मनका गतिविध प्रतीत्यसमुत्पन्न हुन्छन् र, कसरी ती सबै आफ्नै इसेन्स अर्थात् स्वत्वरहित हुन्छन् भन्ने बुझ्नुपर्छ। यसरी धर्मविचय गर्दै जाँदा समताभाव पैदा हुन्छ।

ध्यानको अभ्यासले रुचिको विधामा उत्कृष्टता हासिल गर्न सघाउँछ, कलामा निखार दिलाउँछ, मानिसलाई नैतिकवान् बनाउँछ। केवल ध्यानी व्यक्ति रुपान्तरित हुन सक्छ। डिग्री या सफलता त सामान्य बुद्धि भएका मानिसले पनि प्राप्त गर्न सक्छन्, रुपान्तरणका लागि अधिक चेष्टा र दृष्टि हुनुपर्छ, आफ्नै मनको साक्षी हुनुपर्छ ।

मनको साक्षी:
वर्तमान क्षणमा होसपूर्ण रहनु अद्भूत कुरा हो। किनभने सुखशान्ति न विगतको यादमा छ न भविष्यको कल्पनामा, वास्तविक सुख, शान्ति, चैन सबै वर्तमानमै छ । आनन्द अहिले यहीँ छ, अनुभूति गर्ने चित्त हामीसँग छैन, सौन्दर्य अहिले यहीँ छ देख्ने आँखा हामीसँग छैन, संगीत अहिले यहीँ छ त्यसको सरगम श्रवण गर्ने कान हामीसँग छैन ।

मनको साक्षी हुन सिक्दा मन शान्त हुन थाल्छ र, मनमा अपार ऊर्जा सञ्चय हुन थाल्छ। ऊर्जावान् भएको क्षणमा नै हामीले आनन्द, सौन्दर्य र संगीत देख्न सक्छौं । फ्रान्सेली पाहुनामध्ये एकजनाले अलिकति असन्तोष प्रकट गर्न लाग्दा क्यारोलिन, हार्वे र समूहका अरु सदस्य उनलाई रोकेर भने– पख्नुस्, हामीले बाहिर जे देख्छौं, त्यो हामीले आफूभित्र भएको कुरा देखेको हो।

यदि हामी दोषरहित छौं भने हामीले बाहिर दोष देख्नै सक्दैनौं । अरुलाई मन पराउन पहिला हामीले आफूलाई मन पराएको हुनुपर्छ । बुद्धका शिक्षाको योभन्दा सुन्दर बुझाइ देख्‍न, सुन्‍न मुस्किल हुन्छ ।

बुद्धले बारम्बार भन्नुभएको छ– अत्ता हि अत्तनो नाथो, अप्प दीपो भव। तिमी आफू आफ्नै भगवान् हौ, अरुमा प्रकाश खोज्नुभन्दा आफूमै खोज्न चेष्टा गर, अरुबाट कल्याणको आस गर्नुभन्दा आफैंले आफ्नो कल्याण गर, अरुमा प्रेरणा खोज्नुभन्दा आफूमै प्रेरणा खोज।

मनको साक्षी हुँदा दृष्टि बदलिन्छ, दृष्टि बदलिँदा सृष्टि बदलिन्छ। मानिसले आफ्नो कर्म मन लगाएर गर्न थाल्छ र, त्यसैमा सुख फेला पार्छ, सुखको माग मनबाट गायब हुन्छ। मानिस आफ्नो सुखको मालिक आफैं हुन्छ । बुद्धले ध्यानको बाटो देखाइदिनुभयो, हिँड्ने चेष्टा हाम्रै मनमा पैदा हुनुपर्छ। तुम्हेहि किच्च आतप्पं अक्खातारो तथागता !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here