प्रकाश भण्डारी

सुनको मूल्य गत १/२ महीनामा अस्वाभाविक रूपले बढ्दै गएपछि त्यसले निकट भविष्यमै ठूलो आर्थिक संकट हुनेतर्फ संकेत गरेको त होइन भनी विश्वव्यापी रूपमा नै अड्कलबाजीहरू गर्न थालिएका छन् ।

अन्तरराष्ट्रिय बजारमा ठीक १ वर्ष अगाडि प्रतिऔन्स ११९० डलर रहेको सुनको मूल्य अहिले १५२५ (गत सोमबार) डलर पुगिसकेको छ ।

नेपालमा पनि करीब २ महीना अगाडिको मूल्यसँग तुलना गर्ने हो भने सुनको मूल्य करीब एक चौथाइले बढिसकेको छ । 

किन बढ्यो स्वर्ण–मूल्य ?
अन्तरराष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले अहिले विश्वको अर्थ व्यवस्था स्थिर रहेको जनाएको छ । अर्थ व्यवस्था स्थिर रहनु भनेको लगानीका नयाँ क्षेत्रहरूमा मात्र होइन, विद्यमान लगानीको स्तरमा समेत विस्तार नहुनु हो । यही कारणले सुनमाथि अत्यधिक लगानी भइरहेको उसको आकलन छ । लगानी बढ्नुको सोझो अर्थ सुनको माग उच्च हुनु र त्यसैको आडमा मूल्य बढ्नु नै त हो । 

त्यसो त यूरोपेली संघको शक्तिशाली अर्थतन्त्रमध्येको एक जर्मनीमा आएको सुस्तीको कारण पनि त्यहाँका लगानीकर्ता सुनतर्पm आकर्षित भएर त्यसको माग बढाउने कार्यमा भूमिका खेलिरहेको बताइन्छ ।

फेरि अमरिकी फेडेरल रिजर्भले १२ वर्षपछि आएर यही बेला ब्याजदरमा कटौती गरेको छ । ब्याजको तुलनामा सुनमा हुने लगानीको प्रतिफल बढी हुनाले अहिलेसम्मको प्रवृत्ति अनुसार त्यसले सधैं अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि गराएको नै छ ।

भारतको कुरा गर्ने हो भनेचाहिँ आयातित सुनमा २ दशमलव ५ प्रतिशतले भन्सार शुल्क बढाउने निर्णयले त्यहाँको अन्तरिक बजारमा सुनको मूल्य वृद्धि भएको देखिन्छ ।

चीन तथा अमेरिका बीचको व्यापार युद्धको कारण भएको धेरै देशका मुद्राको अवमूल्यनले पनि ती देशले आयात गर्ने सुनको मूल्य बढाएको छ ।

हालै अमेरिका तथा इरानबीच उत्पन्न नयाँ तनावले मात्र होइन, ट्रम्पको पूर्वानुमान गर्न नसकिने खालका सन्काहा नीतिदेखि लिएर ब्रेक्जिटसम्मको प्रभावजन्य अनिश्चितताले लगानीकर्ताले अन्य क्षेत्रमा भन्दा सुनमा लगानी गर्नु सुरक्षित र भरपर्दो ठान्न थालेको पनि अनुमान गर्न सकिन्छ ।

मुद्रास्फीतिको समयमा हुने मुद्राको मूल्य ह्रास बाट त्राण पाउने उपायको रूपमा समेत मानिसहरू सुनमा लगानी बढाउन चाहन्छन् र मागमा दबाब सृजना गर्छन् ।

मौसमले पनि सुनको मागमा प्रत्यक्ष प्रभाव पारिरेहेको हुन्छ । मौसम राम्रो भएको वर्ष कृषि उब्जनी राम्रो हुँदा कृषकहरूको खरीद क्षमता बढ्छ र यो बढेको क्षमतालाई उनीहरू सुनमा सुरक्षित गर्न चाहन्छन् भन्ने कुरा दक्षिण एशियाली देशहरूमा देखिने प्रवृत्तिले स्पष्ट पारेको छ ।

भूराजनीतिक कारणले आउन सक्ने उतारचढावबाट पनि सुन निस्प्रभावी हुने भएकाले पनि यसको मागमा सधैं वृद्धि हुन्छ । अहिले कोरियाको आणविक शक्तिदेखि लिएर पछिल्लो समय कश्मीरको मुद्दामा भारत पाकिस्तानका बीच उत्पन्न तनावले पनि सुनको मागमा बढोत्तरी भएको छ । 

‘विश्व स्वर्ण परिषद्’ले सन् १९९० देखि २०१५ सम्मको २५ वर्षको सुनको मूल्यमा आएको उतारचढावको विश्लेषण सहित हालै जारी गरेको एक प्रतिवेदन अनुसार सुनको मागलाई प्रभावित गर्ने दुई तत्व रहेका छन् – पहिलो, यदि अन्य कुरा यथावत् रहेमा, सुनको मूल्यको सोझो सम्बन्ध आम्दानीसँग जोडिएको हुन्छ । यदि १ प्रतिशतले आम्दानीको स्तरमा वृद्धि हुने हो भने सुनको मागमा पनि १ प्रतिशतले नै वृद्धि हुन्छ । 

यो प्रतिवेदनले देखाएको अर्को अचम्मलाग्दो दोस्रो तथ्य के हो भने सुनको मूल्यमा हुने एक प्रतिशतको वृद्धिले चाहिँ त्यसको मागमा करीब आधा प्रतिशत मात्र ह्रास ल्याउने रहेछ । यो प्रतिवेदनको सोझो अर्थ जनसंख्याको वृद्धि सँगसँगै आम्दानीको स्तरमा आएको वृद्धिको कारण सुनको माग दिनप्रतिदिन बढिरहेको छ । 

त्यसमाथि नेपालको सन्दर्भ हेर्ने हो भने भड्किलो हुँदै गएको सामाजिक व्यवहारले पनि सुनका गरगहना जस्ता उपभोग्य मागमा वृद्धि गराएको छ ।

सुनमा गरिएको लगानी सुरक्षित हुने र यसलाई वास्तविक सम्पत्तिका रूपमा भण्डारण पनि गर्न सकिने भएकाले यसको माग सधैं उच्च रहिरहन्छ । तर, अर्कोतर्फ भारतको केन्द्रीय बैंक मात्र होइन, चीन, रूस, टर्की सहितका धेरै देशका केन्द्रीय बैंकहरूले अहिले ठूलो परिमाणमा सुन खरीद गरी आप्mनो ढुकुटी बलियो पारेका छन् ।

एक अनुमान अनुसार यी बैंकहरूले गएको १ वर्षमा मात्र ३७४ मेट्रिक टन सुन खरीद गरेका छन् । यसले अन्तरराष्ट्रिय रूपमा नै सुनको आपूर्तिमाथि उच्च दबाब सृजना गरेको छ । यही आपूर्ति र मागको दोहोरो दबाबले मूल्यलाई उँभो लगाएको कुरा स्वतः सिद्ध छ ।

अझ अहिले सामान्य अवस्थामा वार्षिक रूपमा माग रहेको भन्दा करीब १००० टन कम मात्र आपूर्ति भएको तथ्यांकको आधारमा भविष्यमा सुनको मूल्य झन् बढ्दै जाने अनुमान गर्न सकिन्छ । त्यसैले अहिलेको अल्पकालीन मूल्य स्थिर भए पछि पनि यसको मूल्य निरन्तर बढ्दै जाने कुरामा कुनै शंका छैन ।

अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ? 
जस्तोसुकै संकटको अवस्थामा पनि आफ्नो वास्तविक मूल्य धारण गर्न सक्ने भएकाले सुनलाई वित्तीय उपकरणकै रूपमा लिइने भएकाले यसको मूल्यसँग अर्थतन्त्रको प्रत्यक्ष सम्बन्ध रहने बताइन्छ । 

त्यसैले पनि यति छोटो समयमै सुनको यति धेरै मूल्य वृद्धि हुनुले सकारात्मक संकेत पक्कै गरेको छैन र त शुरूमै उल्लेख गरिएका अड्कलबाजीहरूले यहाँ पनि प्रशस्त ठाउँ पाएका छन् ।

सुनको मूल्यसँग धेरै आयाम जोडिने र यसको प्रभाव भने बहुपक्षीय हुने भएकाले यस्तो संकटको अड्कलबाजी हुनुलाई जायज नै मान्न सकिन्छ ।
हुन पनि सुनको मूल्य न्यून हुनुलाई मात्र स्वस्थ अर्थतन्त्रको परिचायक मानिन्छ । 

यिनै परिप्रेक्ष्यमा विश्वव्यापी रूपमा हुने अनुमान गरिएको आर्थिक मन्दीको कारण लगानीकर्ता अन्य क्षेत्रमा भन्दा सुनमा लगानी गर्न हौसिएको र त्यसले मागलाई बढाएको कारण यसको मूल्य बढेको भनी विश्लेषण गरिएको पाइन्छ । 

त्यसो त नेपाली समाजमा आम रूपमा व्यवसायिक रूपमा भन्दा पनि रहर र शोखको कारण सुन खरीद हुने गरेको छ । त्यसैले सुनको मूल्यले कारोबारमा असर गरे पनि समग्र अर्थ व्यवस्थालाई नै गहन रूपमा प्रभावित भने गर्दैन । बैंकहरूले सुनमा गरेको लगानी पनि नगन्य प्रतिशतमा मात्र हुनाले बैंकिङ क्षेत्रलाई पनि यसले तत्कालका लागि गम्भीर प्रभाव पार्ने देखिँदैन । 

तर, भविष्यमा हुन सक्ने सम्भावित आर्थिक संकट सुनको मूल्यमार्फत प्रतिबिम्बित हुन्छ भन्ने अर्थशास्त्रीय मान्यताका आधारमा भन्ने हो भने सुनमा हुने उच्च मूल्य वृद्धिले अर्थतन्त्रको उज्ज्वल भविष्यतर्फ भने संकेत गर्दैन ।  (लेखक बैङ्कर हुन् । -आर्थिक अभियानबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here