हेटौंडा, २३ भदौ/ नेपाली कांग्रेसले भोलि भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर कांग्रेसले दोस्रो चरणको जागरण अभियान चलाउन लागेको हो ।

हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जानकारी दिएको छ । नेपाली काँग्रेस मकवानपुरले सोमबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका चारै प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ कार्यक्रम हुने बताएको छ ।

क्षेत्र नम्बर १ क मा प्रेमचन्द्र दाहाल, १ ख मा ऋषिराम घिमिरे, २ क मा प्रतिमा गौतम र २ ख मा शेषनाथ अधिकारीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । भोलि क्षेत्र नम्बर १ क मा हेटौंडा–१६, १ ख मा हेटौंडा ५ नम्बर वडामा, २ क मा मार्खु र २ ख को मनहरीमा वृक्षारोपण गरी एकसाथ अभियान उद्घाटन हुनेछ ।

दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमझैं छरितो स्वरूपमा हुने बताइएको छ । “एक मिनेटभित्र आसन ग्रहण सकिन्छ । ठूला केजीमा तौलिने माला एवं व्याजरहित हुन्छ । वक्ताको संख्या सीमित हुन्छ । कार्यक्रम बढी अन्तरक्रियात्मक हुन्छ । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित हुनेछन् ।

अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने भएको छ । दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार बिरुवा रोप्ने भएको छ ।

जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप प्रत्येक निर्वाच्न क्षेत्रमा एक सय छ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको छ ।

विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमान अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पीडा र अपेक्षाका बारेमा जानकारी लिने प्रवक्ता कोइरालाको भनाइ छ ।

उनीहरुसँग वर्तमान सरकारसँग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समीक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिने उनले बताए । दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सदस्य राजीव सुबेदीलगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here