हेटौंडा ८ भदौ/३ नम्बर प्रदेशको प्रदेशसभा बैठक गत असार १२ गते चालु आर्थिक वर्षको बजेट पारित गरेको दुई महिनापछि आज आईतबार पहिलोपटक प्रदेशसभा बैठक बस्ने भएको छ ।

आज दिउँसो २ बजे बोलाईएको बैठकले विभिन्न समितिमा छलफल टुंगिएको ५ वटा विधेयक पास गर्ने तयारी गरेको सभामुख सानुकुमार जानकारी दिनुभएको छ । हिजो शनिबार बसेको कार्यव्यवस्था समितिले बैठकको एजेण्डा तोक्दै दुईमहिनादेखि स्थगित प्रदेशसभा आज दिउँसो २ बजेलाई बोलाईएको हो ।

हाल प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणबाहेक समितिमा छलफल सकिएका ५ वटा विधेयक पास गर्न लागेको हो ।

प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण समितिले छलफल सकेको समितिकी सभापति रमा आलेले बताउनुभयो ।

मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा स्वास्थ्य र कृषि समितिमा र प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला समितिले विभिन्न चरणको छलफलपश्चात् अन्तिम रूप दिइसकेको छ  ।

प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक, निजी, सहकारी साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा भर्खरै मात्र दर्ता गराएको छ  ।

सम्बन्धित मन्त्रालयले विधेयक प्रदेशसभा पेस गरेपछि मात्र समितिमा पठाइने र समितिले छलफल अगाडि बढाउनेछ  । प्रदेशसभामा हालसम्म ४३ वटा विधेयक दर्ता भएका छन, जसमध्ये ३६ वटा पारित भएका र ३५ वटा प्रमाणीकरण भइसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here