मोदनाथ खनाल

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता विषयको सीमा एवं स्वरूपका बारेमा ज्ञान, सीप, अनुभव एवं अस्तित्वको सौन्र्दयमा आनन्दित हुन सक्छ । ज्ञान विज्ञानको विकासले गर्दा अहिले विश्वका कुनै पनि भाग टाढा भएनन् ।

जुन ठाउँमा जन्मिएर हुर्किएर पनि मानिस विश्वका कुना कन्दरा विचरण गर्न सक्छन् । कुनैपनि ठाउँमा बसोबास गर्न सक्छन् । हरेक ठाउँ भौगोलिक, वातावरणीय एवं सांस्कृतिक हिसावले भिन्न प्रकृतिका हुन्छन् । भूगोल र वातावरण पूर्णतः प्रकृतिजन्य हो । प्रकृतिजन्य विषयलाई आफू जहाँ पुग्यो त्यही बोकेर हिँड्न मिल्दैन । तर भाषा, संस्कृति एवं धर्मलाई आफ्नो साथ लिएर हिँड्न सकिन्छ ।

विश्वभरी नेपालीहरू फैलिएका छन् । भूगोल र वातावरण सँगै लैजान नसकेपनि आफ्नो संस्कृति एवं पहिचान जहाँ गएपनि साथमा राखिएको हुन्छ । मन एवं आत्मा भित्र रहन सक्ने विषय आफू जहाँ पुगे पनि सँगै हुन्छन् । भारतका प्रशिद्ध कवि रविन्द्रनाथ टेगोरले भनेका छन्–“माई होम इज एभ्रीह्वोयर, आइ एम इन सर्च अफ इट, माई कन्ट्री इज इन अल कन्ट्रीज, आइ विल स्ट्रगल टु अटेन इट” अर्थात, “जहाँतही मेरो घर छ, जसलाई म खोजीरहेको छु ।

सबै देशहरूमा मेरो देश छ, यस (मेरो देश) लाई पाउनको लागि म संघर्ष गर्नेछु ।” रविन्द्रनाथको यो भनाई साच्ँचै नै कालजयी   छ । देश भूगोल मात्रै हैन, भाषा संस्कृति एवं सभ्यतामा पनि देशको अस्तित्व रहेको हुन्छ । अहिले नेपाली पर्वहरूको समय छ । एकपछि अर्को पर्वहरू मनाउँदै विश्वभरी नेपालीहरू रमाइरहेका छन् । आफ्नो भूगोल छोड्नु पर्दाको पीडालाई साँस्कृतिक एवं चाडपर्वको रमाइलोले केही हदसम्म विर्साइरहेको हुन्छ । 

मानिस स्वभावैले अतृप्त प्राणी हो । एक पछि अर्को प्राप्तिका लागि मान्छेको यात्रा जारी रहन्छ । नेपाली पनि तिनै मानिसहरूको एउटा समानधर्मी समूह हो । हामी केही नेपाली क्यानडा बस्छौं, कोही अमेरिका, युरोप लगायत विश्वका विभिन्न देशहरूमा नेपालमा मनाइने चाडपर्वहरू भव्यताका साथ मनाउन थालिएका छन् । विदेशमा बस्दा भोग्नु पर्ने शून्यतालाई यही चाडपर्व जस्ता सांस्कृतिक पक्षहरूले चिरेको छ ।

मानिस जस्तोसुकै निराशाको अवस्थामा पनि कुनै अदृष्ट शक्तिको भरोसामा बाँच्ने प्रयास गरिरहेको हुन्छ । कालोबादलको पछाडि उज्यालो छर्ने कुनै शक्ति अवश्य छ भन्ने विश्वासले आफ्नो जीवनलाई आश्वस्त पार्ने हाम्रो सांस्कृतिक एवं  धार्मिक परम्परा छ । “महान्तं पुरुषम् आदित्यवर्ण तमसः परस्तात्” । डरलाग्दो अँध्यारोको पछाडि जाज्वल्य शक्ति छ, जसले हाम्रो रक्षा गर्छ । यही विश्वास हाम्रो जीवनको सारथी हो ।

यो विश्वास मात्र नभएर एक आनन्दपूर्ण जगत् हो । यही भरोसाबाट मानिस भित्र भएको अनन्त शक्ति जागृत हुन्छ । आफूभित्र भएको शक्तिलाई अर्थात् ईश्वरलाई पुकार्न थाल्छ । अनि विस्तारै मानिसको आन्तरिक शक्ति जाग्छ अनि ऊ परमेश्वर परमात्माको नजिक पुग्छ । वास्तवमा समस्त ब्रह्माण्ड यही सर्वोच्च सत्ताको अभिव्यक्ति हो । ईशावास्यमिदं सर्वम् । 

यो जगत् एक सितार जस्तै हो । परमात्माद्वारा एक सितारभित्र अनेकौं तार राखेर मीठो संगीत पैदा गरिएको छ । तारहरू कुनै फलामका छन्, कुनै तामाका छन्, कुनै चाँदीका छन् त कुनै सुनका छन् । यो जगतमा मानवता ईश्वरीय सितारको स्वर्ण तारबाट बनेको छ । यही कारणले मानवबाट निस्कने संगीत सर्वोत्कृष्ट हुनुपर्छ । संगीत भनेको सौन्दर्य हो, आनन्द हो । मानवीय व्यवहार एवं आचरणमा सर्वोत्कृष्टता हुनुपर्छ । तब मात्रै मानव ईश्वरको अंग बन्न सक्छ । मानवको मुक्ति, उसको नैतिक तथा सौन्दर्यपरक चेतना एवं सुवासपूर्ण राग त्यही स्वर्ण तारले पैदा गर्छ । 

चाडपर्वको मौसम छ । नेपाल छोडेर बाहिर बस्ने नेपालीहरूका लागि चाडपर्वले अझै बढी महत्व राख्छ । हामीसँग दुई किसिमको ऊर्जा छ । एउटा आफ्नो पर्व मनाउने मौलिक चेतनाको ऊर्जा, अर्को चाहीं आफ्ना परम्परा एवं संस्कृतिलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारीजन्य ऊर्जा । त्यसैले हामी बाहिर बस्ने नेपालीहरूले डबल उर्जाका साथ पर्व मनाइरहेका हुन्छौं । पंक्तिकार स्वयं क्यानडामा रहने भएकोले क्यानडाको अल्बर्टामा “गुरुकुल नेपाल अफ एडमण्टन” नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ ।

विगत छ वर्षदेखि सञ्चालनमा आएको यो पाठशाला नेपाली संस्कृति, सभ्यता, भाषा एवं नेपाली चेतनाको विकास गर्दै पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने एक स–शक्त अभियान हो । रवीन्द्रनाथले भने झंै हाम्रो सांस्कृतिक देश हामीले क्यानडामा नै तयार गरेका छौं ।

यस पाठशालाबाट अहिलेसम्म दुई सय भन्दा बढी नेपालीमूलका केटाकेटीहरूले शिक्षा आर्जन गरिसकेका छन् । वैदिक मन्त्र समेत पाठ गर्न सक्ने क्षमता विकास गर्दै नेपाली सांस्कृतिक सभ्यताको मनोरम बगैंचा क्यानडामा नै निर्माण गर्ने अभियानमा हामीलाई त्यही आन्तरिक ऊर्जाले प्रेरित गरेको छ ।

मानवको लागि अन्तिम सत्य ज्ञान मात्र नभएर यही सांस्कृतिक सभ्यतारुपी दीप्तिमान चेतना नै हो । यही चेतनाले विश्वभरी नेपाली सभ्यता र अनन्त ज्ञानधाराको सौन्दर्यलाई स्थापित गर्दै विश्व सभ्यताको आलोकमा आफूलाई उभ्याउँदै तिहारको अवसरमा क्यानडामा नै हुर्किएका साना नानी–बाबुहरू धमाधम द्यौसी–भैलो कार्यक्रममा रमाइरहे । उनीहरु ‘वसुधैव कुटुम्बकम्’को भावनालाई मलजल गरीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here