File Photos: THT

काठमाडौं, २८ साउन/आर्थिक वर्ष २०७४/०७५ मा नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को भन्दा १४९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा प्राधिकरणले गरेको प्रगति समीक्षाका बारेमा जानकारी दिँदै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्राधिकरणको खुद मुनाफामा उच्च अंकको वृद्धि भएको बताए ।

गत आर्थिक वर्षमा प्राधिकरणमार्फत सरकारको ढुकुटीमा सवा १ अर्ब रुपैयाँ, विगत वर्षहरुको ब्याजसमेत १३ अर्ब १६ करोड र रोयल्टीबापत १ अर्ब ४४ करोड रुपैयाँ गरी जम्मा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा भएको पुनको भनाई छ ।

विद्युत चुहावट नियन्त्रणमा पनि प्राधिकरणले प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा विद्युत चुहावट १५ दशमलव ३२ प्रतिशत कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्षको विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतले भन्दा ५ दशमलव १३ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७२/७३ मा कुल चुहावट २५ दशमलव ७८ प्रतिशत रहेकोमा पछिल्लो ३ वर्ष अवधिमा १० दशमलव ४६ प्रतिशतले चुहावटमा कमी आएको छ । 

गत असार मसान्तसम्ममा राष्ट्रिय प्रशारणलाइनमा आबद्ध भई विद्युत उपभोग गर्ने जनसंख्या ७८ प्रतिशत रहेको छ । यो गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी हो । 

गत आर्थिक वर्षमा भएको कुल विद्युत खपतमा भारतबाट आयातित विद्युतको योगदान सबैभन्दा बढी छ । गत आर्थिक वर्षको कुल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट किलोवाट घन्टा रहेकोमा नेपाल विद्युत प्राधिकरणको उत्पादन २ अर्ब ५५ करोड, निजी क्षेत्रको उत्पादनबाट २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड किलोवाट आवर युनिट विद्युत आयात गरिएको छ । 

गत आवमा प्राधिकरणले गरेको विद्युत खरीदको अवस्था हेर्दा नीजि उत्पादकहरुबाट १४ अर्ब १३ करोड र भारतबाट २३ अर्ब ३ करोड रुपैयाँ बराबरको आयात गरिएको विद्युत खरीद गरिएको छ। यस अवधिमा नेपालले ३२ करोड रुपैयाँ बराबरको विद्युत भारत पठाइएको छ । गत आर्थिक वर्षमा प्रशारणलाइनतर्फ करिब ७ सय ५७ सर्किट किलोमिटर लाइन सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here