फाईल फोटो

हेटौंडा, २६ साउन/३ नम्बर प्रदेशमा प्रहरीले संकलन गर्ने राजस्व वर्षेनी घट्दै गएको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार ३ आर्थिक वर्षको बीचमा राजस्व संकलनमा ४० प्रतिशत बढी गिरावट आएको छ।

आर्थिक वर्ष २०७३/७४ मा ३ नम्बर प्रदेश अन्तर्गत उपत्यका बाहेक १० जिल्लाबाट प्रहरीले २८ करोड ६५ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतले आर्थिक वर्ष २०७४/७५ मा १३ करोड ५८ लाख ७४ हजार र २०७५/७६ मा १२ करोड ९३ लाख १० हजार पाँचसय मात्र राजस्व संकलन भएको जानकारी दिए ।

वर्षेनी प्रहरीले उठाउने राजस्व घट्दै जानुमा सडक प्रयोगमा आएको सचेतना मुख्य कारण भएको उनको भनाइ छ । ‘सवारी नियम सम्बन्धमा विद्यालय सम्पर्क कार्यक्रम र समुदाय सचेतना कार्यक्रमले पनि सकरात्मक प्रभाव पारेको छ’, बस्नेतले भने, ‘हामीले राजस्व संकलनलाई मात्र प्राथमिकता नदिइ चालकमा सचेतना र प्रशिक्षण कक्षा सञ्चालन गरेका छौं ।’

राजस्व संकलन घट्दै गए पनि वर्षेनी सवारी दुर्घटनासँगै मृतकको संख्या भने बढ्दो छ । आर्थिक वर्ष २०७३/७४ प्रदेशभित्र सवारी दुर्घटनामा परी ४ सय ७७ जनाको मृत्यु भएकोमा २०७४/७५ मा ४ सय ७० र २०७५/७६ मा ४ सय ७९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

३ आर्थिक वर्षमा २ हजार १ सय ८ वटा सवारी दुर्घटना भएको प्रदेश कार्यालयले जनाएको छ। यस अवधिमा सवारी दुर्घटनामा परी ४ हजार ६ सय जना घाइते भएका थिए । यहाँका १० जिल्लामध्ये प्रदेश राजधानी रहेको मकवानपुरमा जघन्य अपराधका घटना, लागुऔषध उत्पादन र कारोबार सबैभन्दा बढी हुने गरेको प्रहरी तथ्यांक छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरमा २ सय ५८ वटा जघन्य अपराधका घटना भएका छन् । दोस्रो नम्बरमा रहेको चितवनमा २ सय ११ र धादिङमा १ सय ३ वटा घटना भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार रसुवामा सबैभन्दा कम ११ वटा घटना भएका छन् । लागुऔषध उत्पादन र कारोबारमा पनि मकवानपुर पहिलो नम्बरमा रहेको छ ।

मकवानपुरबाट आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ६ सय २४ किलो ७ सय ग्राम गाँजा, चरेश, खैरो हिरोइन र अफिम प्रहरीले बरामद गरेको छ । दोस्रो नम्बरमा रहेको धादिङबाट १ हजार ७ सय ५८ किलो र चितवनबाट १ हजार ४ सय १६ किलो यस क्षेत्रमा उत्पादन भएको लागुऔषध गाँजा, चरेश, खैरो हिरोइन र अफिम बरामद गरेको प्रदेश प्रहरी प्रमुख बस्नेतले बताए। कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा रामेछापमा भने लागुऔषध बरादमको परिणाम शुन्य रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा लागुऔषध सम्बन्धी प्रदेशका १० जिल्लामा ३ सय ९ वटा मुद्दा दर्ता भएकोमा ४ सय ८५ जना पक्राउ परेका छन्। तीमध्ये ३९ जना विदेशी छन् । -अन्नपूर्णबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here