हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ ।

बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार डोजर अपरेटरको सकुशल उद्धार गरिएको छ ।

पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न सकिएको छैन । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने बताइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो । केहीदिनदेखि त्यस खण्डमा डोजर सञ्चालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here